गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतसम्बन्धी विवादमा कांग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेयको तर्फबाट मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

अधिकारीले सोमबार विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे पनि कांग्रेसले असंवैधानिक कार्य भएको भन्दै विरोध गर्दै आएको छ । ६० सदस्यीय प्रदेशसभाबाट अधिकारीले ३० मतमात्रै प्राप्त गरे पनि आफू निर्णायक रहेको भन्दै सभामुखले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

प्रदेश सभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुने अवस्थामा मुख्यमन्त्री अधिकारीले सभामुख धितालको मत समेत जोडेर विश्वासको मत पाएको घोषणा गरिनु असंवैधानिक भएको दाबी नेपाली कांग्रेसको छ ।

मुख्यमन्त्री अधिकारीलाई कुनै पनि कामकाज नगर्नु/नगराउनु भनी अन्तरिम आदेश जारी गरेर कामकाजमा रोक लगाउन रिटमा माग गरिएको छ ।

यसै गरी मुख्यमन्त्री अधिकारीको नियुक्ति उत्प्रेषणको आदेशले बदर गरी संविधानको धारा १६८ को उपधारा ३ अनुसारको सरकार गठनका लागि परमादेश जारी हुनुपर्ने माग गरिएको छ । खगराज अधिकारी संविधानको धारा १६८ को उपधारा २ अनुसार विश्वासको मत पाउन असफल भएका कारण अब स्वतः उपधारा ३ को प्रक्रियामा जानुपर्ने उनको रिटमा माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर