नेपालमा पहिलेदेखि नै फलामे छड कारखानाहरु भए पनि पूर्वाधार परियोजना प्रयोग हुने स्टील नेपालमा उत्पादन हुँदैनथ्यो । ठूला निर्माणका लागि आवश्यक स्टीलमा आयातको भर पर्नुपर्थ्यो । शंकरलाल अग्रवालले त्यहाँ अवसर देखे र ०५१ सालमा बाराको सिमरामा जगदम्बा स्टिल्स प्रालि स्थापना गरे । स्थापना कालमा यो उद्योगले दैनिक ५० मेट्रिक टन सीआरटी बार स्टिल्स उत्पादन गर्थ्यो ।
तर, यो ३० वर्षमा शंकरलालले सुरु गरेको त्यो सानो फ्याक्ट्री, अहिले दक्षिण एसियाकै सबैभन्दा ठूलोमध्येको स्टिल कारखाना बनेको छ, देशकै शान बन्न सफल भएको छ । विभिन्न १४ प्रकारका स्टिल्स उत्पादन गर्ने फ्याक्ट्रीको क्षमता दैनिक ३ हजार मेट्रिकटन पुगेको छ । सरकारलाई सबैभन्दा धेरै कर तिर्ने उद्योग बन्न सफल भएको छ । नेपालबाट पहिलोपटक स्टिल्स निर्यात गर्ने इतिहास पनि यसले बनाएको छ । धेरै रोजगारी सृजना गर्ने मात्रै होइन, सबैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगको कीर्तिमान पनि जगदम्बाकै नाममा छ ।
एकै वर्ष आव २०७७/७८ मा करिब ५० अर्ब (४९ अर्ब ७४ करोड) रुपैयाँ सञ्चालन आय गरेको यो उद्योगले गत वर्ष मुलुकमा आन्तरिक मागमा अत्यन्तै ठूलो गिराउट आउँदा पनि ४० अर्ब सञ्चालन आम्दानी हासिल गरेको छ ।
देशकै सबैभन्दा अत्याधुनिक र ठूलो स्टिल्स उद्योग अब सर्वसाधारणलाई यो सफलताको साझेदार बनाउँदै छ । यसअघि नै प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको यो कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्न असोज १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।