हरेक हिउँदमा उत्तरीध्रुवबाट चिसो छल्नका लागि नेपाल आउने चराको आगमन यस वर्ष पनि भइसकेको छ । अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्छी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् ।

चराविद्हरुका अनुसार यी जलपन्छी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर कर्‍याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ ।

चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।

यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायः चरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाईसरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गाचील आदि पर्छन् ।

यतिखेर मुलुकका विभिन्न नदी, ताल, तलैया, सिमसार क्षेत्रमा जाडो छल्न तथा आहाराको खोजीमा आइपुगेका आगन्तुक चराको चहलपहल बढ्दो छ । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्या अद्यावधिक गर्न जलपन्छीको गणना सुरु गरिएको छ ।

नेपाल पन्छीविद् सङ्घले गणनामा समन्वय गरिरहेको छ । सो संस्थाका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौड्यालले देशभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्छीको सङ्ख्या, प्रजाति र वासस्थानको अवस्थाबारे जानकारी लिन गणना सुरु गरिएको बताए ।

हरेक वर्ष जनवरीको पहिलो शनिबारदेखि जलपन्छी गणना सुरु गर्ने गरिएको छ । यस वर्षको गणना जनवरी ४ देखि १९ सम्म (पुस २० गतेबाट माघ ६ गते सम्म) सञ्चालन हुनेछ । कार्यकारी निर्देशक पौड्यालले भने, ‘यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरिने छ । यतिखेर खोलानालामा आगन्तुक चराको आगमन र गतिविधिले छुट्टै माहोल बनेको छ।’

गणनामा हिमाली प्रकृति, वर्ड कन्जरभेसन नेपाललगायत स्थानीय सङ्घसंस्था, चरा संरक्षणकर्मी तथा सम्बन्धित सरकारी अधिकारीहरुको सहभागिता छ । सन् १९८७ देखि हरेक वर्ष जनवरी ४ देखि दुई हप्तासम्म जलपन्छी गणना गर्ने गरिएको । सिमसारको संरक्षणमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ‘वेटल्यान्ड इन्टरनेसनल’ले विश्वव्यापीरूपमा यसको नेतृत्व गर्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर