साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक ११.४९ अंक घटेर २६८८.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक घटेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। गार्डियन माइक्रो लाइफको शेयर आजकै दिनदेखि दोस्रो बजारमा कारोबारमा आएको हो।
त्यस्तै, यस दिन उपकार लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक साढे ६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
त्यसैगरी, यस दिन सिईडिबी हाल्डिङ्गसको साढे ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको २० करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य बढेको छ।
यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.३५ प्रतिशत घटेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन १.३० प्रतिशत घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ९ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ८४ हजार २८० पटकको कारोबारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ५८ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।










