बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक २.३१ अंक बढेर २५७४.६५ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ४३ हजार ८१२ स्टकको ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको १ करोड १२ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीले १८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यस तर्फ आकर्षित भएका हुन्। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने लक्ष्मी भ्यालु फण्ड २ र मेगा म्युचुअल फण्ड १ को इकाईमूल्य ६ प्रतिशत बढेको छ। कारोबारमा आएको आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन पनि घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमाल दोलखा हाइड्रोपावरको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने पिपुल्स हाइड्रोपावरको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।










