मान्छेले आफूलाई सुरक्षित महसुस गर्ने ठाउँ घर हो  ।  सुरक्षित महसुस गर्ने परिवार रआफन्तसँगै हो । तर, केही वर्षयता आफन्तबाटै, नातेदारबाटै ज्यान गएका घटना बाहिर आइरहेका छन्।

आर्थिक र पारिवारिक समस्याको साथै नैराश्यताका कारण उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको छ । सञ्चारमाध्यममा बाबुले छोरा मारेको, श्रीमानले श्रीमती मारेको, नातीले बाजे मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन्।

किन यस प्रकारको अपराध बढिरहेको छ? यसले समाज, खासगरि परिवारमा कस्तो असर परिरहेको छ? यसमा अध्ययन भएको छैन।हत्या सँगसँगै लुटपाट पनि परिवारभित्र पसेको छ। गरिबी, बाध्यताले जन्माएको सहनशिलता, जागरुकता, बाध्यतावश लगायतका विभिन्न कारणले यस्ता अपराध भएको पाइन्छ।

कुनै प्रदेशमा कमबेसी होला, तर देशका सातै प्रदेशमा यस्ता घटना भएका छन् । कुनै पनि घटना अर्थात अपराध नियन्त्रणका लागि अध्ययन आवश्यक पर्छ। त्यसका आधारमा अपराध नियन्त्रणका लागि अवलम्बन गर्नुपर्ने उपाय निस्कन्छ। परिवारसँग जोडिएका अपराधका घटना अध्ययन गर्दा विभिन्न कारण देखिएका छन्।

विस्तारै संयुक्त परिवार टुक्रिदै गएको छ। रोजगारी, अध्ययन लगायतका विभिन्न कारणले एकल परिवारको परिपाटी बढ्दै गएको छ। संयुक्त परिवारमा बस्दा परिवार सम्हाल्ने जिम्मा सबैको हुन्थ्यो। परिवारभित्रको असन्तुष्टि सगोलमा छलफल गरिन्थ्यो, हल निकालिन्थ्यो। त्यस्तै, बालबालिकामाथि सबैको दृष्टि रह्न्थ्यो। उनीहरूको संगत कोसँग छ? के गर्छन्? केही गलत काममा लागेका त छैनन्? व्यवहारमा केही परिवर्तन त आएको छैन? यस्तै, मनोविज्ञानसँग जोडिएका विषयमा सबैको ध्यान हुने गर्थ्यो। एकल परिवारमा विशेष गरि जागिर तथा काम गरी खाने परिवारमा बिहान छुट्टिए पछि एकै पटक राति खाना खाने वेलामा भेट हुन्छ।

बालबालिकाले दिनभरि के गरे? कोसँग संगत गरे? हेरविचार गर्ने फुर्सद कसैलाई हुँदैन। यस्तो अवस्थामा एकैपटक थाहा हुने भनेको कुनै गल्ती हो, त्यो सानो पनि हुन सक्छ, ठूलो पनि। अहिले संसार प्रविधिले जोडिएको छ। अझ सामाजिक सञ्जाल सबैलाई जोड्ने माध्यम बनेको छ। बालबालिका झन सामाजिक सञ्जालसँग नजिकिएका छन्।

उनीहरूले सहि प्रकारले उपयोग गरेनन् भने गलत कुरा सिक्ने र गलत संगततिर डोर्‍याउने माध्यम बन्न सक्छ। घरमा सामाजिक सञ्जालको सहि र गलत उपयोग छुट्याउन सिकाउने भनेको अभिवावकले नै हो। तर, अध्ययन र जानकारीका लागि भनेर सामाजिक सञ्जाल उपयोग गरिराखेका बालबालिकामाथि घरमा निगरानी राख्ने गरिएको छैन।

जसले उनीहरूलाई गलत संगततिर डोर्याइरहेको पाइन्छ। अहिलेको आधुनिक समाजमा महिलाले आफ्नो हकअधिकारबारे बुझेका छन्, त्यसको उपयोग गर्न खोजेका छन्। पुरुषप्रधान समाजमा  पुरुषले त्यो पचाउन गाह्रो मान्छन्। जसले गर्दा श्रीमान-श्रीमतीबीच तनावको स्थित आउने गरेको देखिएको छ। त्यसकै कारणले हुनुपर्छ, परिवारभित्र हुने अपराधमा श्रीमान-श्रीमती बीचको हत्याका घटना ५० प्रतिशत जति छन्।

अझ यसमा श्रीमानले श्रीमतीको हत्या गरेका घटना ८० प्रतिशतको हाराहारीमा छन्। लागूऔषधको प्रयोग र मदिराको सेवन गर्ने व्यक्तिले सन्तुलन गुमाउने डर अत्यधिक रहन्छ। त्यसैले होला, स-साना विषयमा हुने झैझगडा वा सानो विषयको विवाद पनि मदिरा सेवनको कारणले हत्यासम्म पुगेको थुप्रै उदाहरण छन्। नेपालमा मदिराको उत्पादन, खरीद-बिक्रीको सहजता छ।

यति सहज अन्य देशमा पाइँदैन। त्यसैले यसको व्यवस्थापन जरुरी छ। यसरी सबैजसो घटना डिप्रेसन, आर्थिक तथा पारिवारिक समस्या र मादक पदार्थ सेवनका कारण भएको देखिएको छ । समूहले गरेको हत्या घटनामा अर्कोमाथि हाबी हुने प्रवृत्ति र तत्कालको आवेग रहेको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना महिनापिच्छे हुने गरेको छ । बाबुले छोरा मारेको, श्रीमान्ले श्रीमती मारेको, नातिले बाजे मारेको जस्ता समाचार दिनहुँ आउने गरेका छन् ।केही वर्षयताको तथ्यांक हेर्दा परिवारका सदस्यबाट हुने अपराधका घटनाको संख्यामा निरन्तर बढिरहेको देखिन्छ।

घटनाकै कुरा गर्दा पारिवारिक विवाद, डिप्रेसन, मानसिक समस्या, आर्थिक लेनदेन,अनैतिक सम्बन्ध, सम्पत्ति, जग्गा विवाद र लेनदेन कारण हुने गरेको प्रहरी प्रहरीले जनाएको छ । हत्या घटना कम गर्न बेरोजगारी समस्या समाधान, सामाजिक सद्भाव र सकारात्मक सोचको विकास, लागूऔषध बिक्री वितरण र उत्पादनमा कडाइ, अभिभावकको निगरानी, कानुन कार्यान्वयनमा सबैको प्रतिबद्धता आवश्यक देखिन्छ ।

यसलाई नियन्त्रण गर्ने उपाय अवलम्बन गर्न तीनै तहका सरकार र सरोकारवालाले ध्यान दिन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित खवर