सुपरहिट फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरू भएको छ।

निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरेका हुन्। सिक्वेलमा भारतीय अभिनेता लेखक, गायक तथा नाटककार पीयूष मिश्रा पनि देखिनेछन्।

सोमबार छायांकनको पहिलो दिन पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको निर्देशक चौहानले जानकारी दिए। स्थानीय लामा गुरूहरूको मन्त्र उच्चारणसहित शुभमुहूर्त गरेर फिल्मको छायांकन सुरू गरिएको हो।

‘ऊनको स्वीटर’ले दर्शकमाझ छोडेका कथा, पात्र र भावनालाई नयाँ परिवेशमा विस्तार गर्ने उद्देश्यसहित सिक्वेल निर्माण गर्न लागिएको निर्देशक चौहानले बताएका छन्। नयाँ फिल्ममा काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथालाई निरन्तरता दिँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ। ‘

केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,’ निर्देशक चौहानले भनेका छन्। आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गरिने फिल्ममा विपिन कार्की, मिरूना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई, रुश्मा राईलगायतका कलाकारको अभिनय रहनेछ। ‘कलेजी- ऊनको स्वीटर’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर