
भारतीय क्रिकेट टोलीका स्टार ब्याट्म्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। यसअघि नै संन्यासको विषयमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई जानकारी गराएका कोहलीले सोमबार संन्यास लिने घोषणा गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत् टेस्ट क्रिकेटबाट बिदा भएको जनाकारी गराएका हुन्। इंग्ल्यान्डविरुद्धको आगामी पाँच म्याचको टेस्ट सिरिजअघि उनले संन्यास लिएपछि भारतीय टोलीले युवा खेलाडीमा भर पर्नु पर्नेछ। सिरिज जुन २० जुनदेखि सुरु हुँदैछ।
कोहलीले यसअघि नै टी-२० बाट संन्यास लिएका थिए। अब उनी भारतका लागि एकदिवसीय खेलमा मात्र उपलब्ध हुनेछन्। कोहलीले एक महिनादेखि बिसिसिआईसँग संन्यासको विषयमा छलफल गरिरहेका थिए। यद्यपी टोली व्यवस्थापन र छनोट समितिले उनको अनुभव इंग्ल्यान्ड सिरिजका लागि महत्वपूर्ण हुने भन्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो।
तर कोहलीले भने संन्यासको निर्णय सार्वजनिक गरेका हन्। रोहित शर्माले हालै टेस्ट क्रिकेटबाट संन्यास लिएका छन् भने रविचन्द्रन अश्विनले पनि अस्ट्रेलियाविरुद्धको सिरिजमा अन्तर्राष्ट्रिय क्रिकेट छोडेका थिए। रोहितले संन्यास लिएपछि भारतले इंग्ल्यान्ड सिरिजअघि नयाँ कप्तान घोषणा गर्नु पर्नेछ भने कोलहीको स्थानामा युवा खेलाडीलाई स्थान दिनु पर्नेछ।
१४ वर्ष लामो टेस्ट करिअरमा उनले १२३ टेस्ट म्याच खेलेर ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्, जसमा ३० शतक समावेश छन्। उनले ६८ म्याचमा भारतको कप्तानी गरेका थिए। पछिल्लो समय कोहलीको टेस्ट फर्म राम्रो थिएन। २०२४-२५ मा अस्ट्रेलियामा भएको बार्डर-गावास्कर ट्रफीमा उनले पाँच टेस्टमा जम्मा १९० रन बनाए, जसमा पर्थमा एक शतक थियो।
तर बाँकी चार म्याचमा उनले ८५ रन मात्र जोडे। न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा उनको प्रदर्शन निराशाजनक थियो। अब इंग्ल्यान्डमा हुने सिरिजमा केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीमा भारतले भर पर्न पर्नेछ।