उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ ।
त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् ।
त्यसो त यो र्याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् ।
‘र्याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन’, उनले भने, ‘पारिवारिक साहसिक गतिविधि भएकाले र्याफ्टिङ गर्नेहरू बढेका छन् ।’ बिदाका दिन आउने, र्याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ ।










