देउखुरीमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय सुशील थापा रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँ निवासी वर्ष २२ को प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
गढवा गाउँपालिका १ धोद्रे पुल नजिक आज बिहान ६ बजे चन्द्रौटाबाट पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










