लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका दोधाराचाँदनी र भीमदत्त नगरपालिकामा गरी ५७ परिवार विस्थापित भएका छन्।जगबुढा नदीले दोधाराचाँदनी–३ पटराखल्लामा बाँध कटान गरेपछि बस्ती डुबानमा पर्दा ५२ परिवार र भुजेला खोलाले भीमदत्त–११ चौकीसाता भुजेलाका पाँच परिवार विस्थापित भएका हुन्।
कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराका अनुसार दोधाराचाँदनी–३ पटराखल्लाका १२ परिवारका ५५ जना, वडा ८ रामपुरे टापुका २५ परिवारका ७० जना र वडा १० शान्तिटोलका १५ परिवारका ५५ जना गरी १८० जना सुरक्षित स्थानमा सारिएका छन्।
‘घर, गोठ जलमग्न भएपछि उद्धार गरेर नजिकैको विद्यालयमा राखिएको छ,’ उनले भने। उनका अनुसार पानीको बहाव कम भएपछि मात्रै परिवारलाई घर फर्काइनेछ।दोधाराचाँदनीका मेयर किशोरकुमार लिम्बूले जगबुढा नदीमा तटबन्ध नभएकाले हरेक वर्ष बाढीले बस्ती डुबाउने गरेको बताए।
‘बस्ती हिचो क्षेत्रमा भएकाले बाढी आउनासाथ असर गर्छ,’ उनले भने, ‘विस्थापितका लागि खानबस्नको व्यवस्था गरिएको छ।’गत वर्षको बाढीले पनि पटराखल्ला, सुन्दरनगर, शान्तिटोल र रामपुरे टापुका बासिन्दा विस्थापित भएका थिए।










