बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दर्जनौँ प्रदर्शनकारी घाइते भएका छन्। घाइतेहरूको सिभिल, एभरेष्टसहित आसपासका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बानेश्वरमा भइरहेको प्रदर्शनको रिपोर्टिङमा रहेका नयाँ पत्रिका दैनिकका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई पनि गोली लागेको छ। नयाँ बानेश्वरमा भइरहेको प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका छन् ।
यसअघि कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठलाई पनि गोली लागेको थियो।
हामी नेपाल संस्थाले माइतीघरमा शिविर राखेर घाइतेहरूको प्राथमिक उपचार गरिरहेको अभियन्ता रोनेश प्रधानले जानकारी दिए।’माइतीघरमा ६/७ जना साथीहरूको उपचार भइरहेको छ,’ उनले भने,’सबैभन्दा धेरै घाइतेहरू एभरेष्ट अस्पतालमा हुनुहुन्छ। कति घाइते भए भनेर यकिन गर्न सकिएको छैन।’










