जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा आज पनि कर्फ्यु लगाएको छ। प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि प्रशासनले कर्फ्यु जारी गरेको हो।
अहिले १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दाया बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) र (ख) अनुसार ती स्थानमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा उल्लेख छ।
जेनजीका अगुवालाई कुटपिट गर्ने एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूलाई कारबाहीको माग राख्दै उनीहरूले बिहीबार पनि प्रदर्शन गरेका थिए। जेन–जी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरूद्ध छ।
सिमरा बजारका पसल तथा व्यवसाय बन्द छन्। उनीहरूले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूमाथि कडा कारबाहीको माग गरेका छन्।उनीहरूले सिमरा उपमहानगरपालिका–१ का तारा बस्नेतसहितका व्यक्तिलाई विपक्षी बनाउँदै इलाका प्रहरी कार्यालय सिमरामा किटानी जाहेरी समेत दर्ता गराएका थिए।
जेनजी अगुवा सम्राट उपाध्यायले सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका आफू लगायत जेनजी युवा साथीहरुलाई कुटपिट गर्नेहरुलाई बिहान १० बजेसम्म कारबाही नगरेको खण्डमा प्रदर्शन गर्ने चेतावनी दिएका थिए।
बुधबार दिउँसो प्रदर्शनका क्रममा एमालेका कार्यकर्ता र जेनजी युवाबीच झडप भएको थियो। त्यसको विरोधमा उनीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गरेका थिए। त्यसक्रममा प्रहरीले लाठी चार्ज गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
प्रदर्शनकारीले प्रहरी माथि ढुंगा हान्नुका साथै विमानस्थलको गेटमा तोडफोड गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२ः३० देखि साँझ ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो। प्रहरीले भने घटनामा संलग्न दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने आश्वासन दिएको छ।
जाहेरी दरखास्तमा किटानी नाम उल्लेख भएकामध्ये जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने धन बहादुर श्रेष्ठ र वडा नं. ६ बस्ने कैमुद्धिन अन्सारीलाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।










