बारामा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। बिहीबार दिउँसो प्रदर्शनको क्रममा एक ब्ल्यांक राउन्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
उनका अनुसार एक राउन्ड अश्रुग्यास सेल पनि प्रहार भएको छ। अहिले स्थिति नियन्त्रणमा आउने क्रममा रहेको उनले बताए। ‘जेनजी समूहलाई वार्ताका लागि बोलाइएको छ।
प्रहरी प्रशासन उहाँहरूको माग पूरा गर्न लागिपरेको छ,’ उनले भने। इलाका प्रहरी कार्यालय सिमरामा जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा सात जनाविरूद्ध जाहेरी परेको छ।
त्यसमध्ये दुई जना वडाध्यक्ष पक्राउ परेका छन्। मुक्का प्रहार गर्नेलाई व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राखेको छ।‘उहाँहरूको माग अनुसार पक्राउ गर्नका लागि अलि खुकुलो बनाइदिन पर्यो।
प्रहरी परिचालन भएको छ। साँझसम्म प्रहरीले पक्राउ गर्ला नि,’ प्रमुख जिल्ला अधिकारी मिश्रले भने। बारामा दोस्रो दिन पनि तनाव भएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।










