लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको लेखनाथ महोत्सवको २१ औँ संस्करण आजदेखि सुरु हुँदैछ ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि भन्ने मूल नाराका साथ हुने महोत्सव १४ गतेसम्म चल्नेछ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको अध्यक्ष जानुका पराजुलीले बताइन् ।
महोत्सवको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन् । लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सव परिष्कृत गर्दै हालसम्म निरन्तरता दिइएको छ ।
महोत्सवको माध्यबाट लेखनाथ क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरूको उत्पादनहरूको प्रदर्शनी एवं बिक्री वितरण गरिने अध्यक्ष पराजुलीले बताइन् । महोत्सवमा उद्योग, व्यापार, व्यवसाय, सेवामूलक एवं सुचनामुलक सहितका ३ सय ३५ वटा स्टलहरु रहनेछन् ।
२ लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ९ करोड कारोबार हुने प्रक्षेपण छ ।










