सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आइतबार भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत छन सोङलाई बधाई दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तार तथा दुवै देशका संसदहरूबीच सम्बन्ध मजबुत बनाउन पुर्‍याएको योगदानको प्रशंसा गरे ।

सभामुख घिमिरेले राजदूत सोङको नेपाल बसाइ सुखद र अविस्मरणीय रहेको विश्वास व्यक्त गरे । भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमहरूले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए ।

उनले नेपाल र चीन असल छिमेकी, घनिष्ठ मित्र र भरपर्दो साझेदार रहँदै आएको तथा शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको पनि बताए । सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुख घिमिरेले प्रशंसा गरे । साथै नेपाल–चीन संसदबिच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर