ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ७३ जनालाई छाडिएको छ।
आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका ७३ जनालाई शनिबार नै छाडिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए। ‘मुद्धा नचलाउने निर्णय भएकाले पक्राउ परेका ७३ जनालाई नै शनिबारै छाडिएको छ,’ एआईजी थापाले भने।
शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारीस्थित ईपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए।
आक्रोशित भिडले मन्त्री ज्वाला चढेको बा२झ ५८६१ नम्बरको गाडी रोकेर टायरबाट हावा फुस्काइ आगजनी गरेका थिए।
उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट १ जना र गोली लागेर अर्का १ गरी २ जनाको मृत्यु भएको थियो।