शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले प्रत्येक संकायको नतिजा एक महिनाभित्र सार्वजनिक गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई आज सम्बोधन गर्दै पोखरेलले विद्यार्थीको अत्यधिक सङ्ख्याका कारण नतिजा प्रकाशनमा ढिलाइ भइरहेको स्पष्ट पार्दै उनले अब तल्लो तहलाई अधिकार हस्तान्तरण गरी पूर्ण रूपमा विकेन्द्रीकरणको सिद्धान्त लागू गर्नुपर्नेमा जोड दिए।
उनले भने,”त्रिभुवन विश्वविद्यालयमा समयमा परीक्षा नहुने र समयमा नतिजा नआउने गुनासो छ । हरेक संकायको नतिजा एक महिना भित्र ल्याउनुपर्ने सम्माननीय प्रमको निर्देशन छ । विद्यार्थी धेरै भएर नतिजा ल्याउन ढिलाइ भइरहेको । विकेन्द्रीकरणलाई लागू गर्नुपर्छ ।”साथै, विश्वविद्यालयको समग्र प्रणालीमा सुधार गर्दै विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययनका लागि आकर्षित गर्ने ठोस तथा प्रभावकारी योजना ल्याउन उनले सम्बन्धित पक्षलाई आग्रह गरे ।
विश्वविद्यालयलाई समयसापेक्ष, प्रविधिमैत्री र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको ६७औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै पोखरेलले त्रिविले देशको उच्च शिक्षा, जनशक्ति निर्माण र राष्ट्र निर्माणमा खेलेको ऐतिहासिक योगदानको स्मरण गराए।
आजको परिवर्तनशील समयमा कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र विश्वव्यापीकरणले ल्याएका चुनौतीहरूलाई अवसरका रूपमा ग्रहण गर्दै विश्वविद्यालयले आफ्नो गौरवशाली इतिहासलाई जोगाएर रूपान्तरणको मार्ग समात्नुपर्ने उनको भनाइ थियो। सम्बोधनका क्रममा सहकुलपति पोखरेलले विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र सुशासनमा विशेष ध्यान दिनुपर्ने स्पष्ट पारे ।
केवल प्रमाणपत्र प्राप्तिका लागि नभई विद्यार्थीहरूमा ज्ञान, सीप, सृजनशीलता र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराउनु आजको आवश्यकता रहेको बताए । अनुसन्धानमा लगानी वृद्धि गर्ने, विश्वविद्यालय-उद्योग सहकार्य बढाउने र शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्दै तोकिएकै समयमा परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाउन उनले सम्बन्धित पदाधिकारीहरूलाई कडा निर्देशन दिए ।
यसैगरी, विश्वविद्यालयको सम्पूर्ण सुधारको केन्द्रमा विद्यार्थी हुनुपर्ने उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यार्थीलाई केवल परीक्षाका लागि मात्र नभई जीवन र समाजका लागि तयार पार्नुपर्ने धारणा राखे । डिजिटल रूपान्तरण र प्रविधिको जिम्मेवार एवं नैतिक प्रयोगका लागि आवश्यक नीति बनाउनुपर्नेमा जोड दिँदै उनले फरक-फरक विचार र दृष्टिकोण भए तापनि गुणस्तरीय शिक्षा र त्रिविको संस्थागत सुदृढीकरणका लागि सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए।
अन्त्यमा, उनले त्रिभुवन विश्वविद्यालयलाई अझ गुणस्तरीय, समावेशी, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने सामूहिक संकल्पका लागि आह्वान गरे ।










