नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएकाले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको जनाएको छ ।
यसअघि बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक समय सार्दै दिउँसो साढे २ बजेसम्मका लागि तोकिएको थियो । तर, त्यसपछि पनि मतदान सुरु हुन सकेन ।
बिहीबार मतदान हुन नसकेपछि निर्वाचन समितिले शुक्रबारका लागि नयाँ समय निर्धारण गरेको छ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।










