धनकुटाको मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक दुर्घटना भएको हो।

इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए ।

दुर्घटनामा ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–८ का २५ वर्षीय अभिषेक चौधरी र सहचालक मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का १८ वर्षीय राहुल चौधरी घाइते भएका छन् ।

घाइते दुवैलाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ। चालक चौधरीको अवस्था मध्यम र सहचालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण ट्रक निकाल्न समस्या भइरहेको र ट्रकसँग सम्बन्धित व्यक्तिहरू आउँदै गरेको प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको रञ्जितकारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर