लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।
शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्नुपर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार आवश्यक रहेको उनले बताए ।
विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिँदै आचार्यले योजनाको फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अनुगमन प्रणाली प्रभावकारी बनाउन कानुन संशोधन गरिएको उल्लेख गर्दै उनले समन्वयबिना गरिने कामले अपेक्षित नतिजा दिन नसक्ने बताए ।










