कतारमा जारी राइजिङ स्टार्स एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ ।

कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालले यसअघि पहिलो खेलमा २६ रनमा अलआउट हुँदै भारतसँग लज्जास्पद हार बेहोरेको थियो । यूएई पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।

आजको खेल नेपालका लागि १००औं एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल पनि हो । नेपालले अहिलेसम्म सबैभन्दा धेरै ओडीआई पनि यूएईविरुद्ध नै खेलेको छ।

दुई टोलीबीच २० खेल हुँदा नेपालले १२ जित निकालेको छ भने आठ खेलमा पराजित भएको छ। यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ।

नेपालले पछिल्लोपटक यूएईसँग एसीसी प्रिमियर कपको फाइनलमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो।

हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित निकालेको छ। ४७ खेलमा पराजित भएको नेपालले एक खेल बराबरी खेलेको छ भने दुई खेलको नतिजा आएको छैन।

आज यूएईलाई हराउन सके नेपालले आफ्नो १००औं ओडीआईलाई ५०औं जितसँगै यादगार बनाउन सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर