प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा प्रश्तुत नहुने बताएका हुन्।

‘हामी संसदमा विद्युत विधेयकका विषयमा राम्रो छलफल गर्छौं। यो हाम्रो भुमिका भनेको प्रतिपक्षीय भुमिकाको कुरा होइन। हाम्रो भुमिका प्रतिपक्षको भुमिका होइन। राष्ट्रिय भूुमिका हुन्छ। राष्ट्रको हितको भुमिका हुन्छ,’ उनले भने, ‘त्यसको पक्षमा हुन्छ। हामी प्रतिपक्षको भुमिकाका आफूलाई प्रस्तुत गर्दैनौं। म साथीहरूलाई आग्रह गर्न चाहन्छु कि यो छलफल त दलीय आधारमा होला।’

अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने पनि बताए। उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताए।

‘तर कानुन त दलीय कानून हुँदैन। राष्ट्रको कानुन निर्माण हुन्छ। त्यसकारण यसमा दलीय प्रश्न होइन, राष्ट्रको प्रश्न, दलको हित होइन, राष्ट्रको हित। यसलाई ध्यानमा राखेर हामीले छलफल गरेका छौं,’ ओलीले भने, ‘छलफलको उद्देश्य पनि त्यही हो। यस विधेयकको सन्दर्भमा हाम्रो पार्टीको रचनात्मक सहयोग हुन्छ। हाम्रो प्रस्तुती पक्षधरताको हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर