अफगानिस्तानमा गएको ६.३ म्याग्निच्युडको भूकम्पका कारण १ सय २० जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार गएराति ११ बजे इरानसँगको सीमा क्षेत्र रहेको अफगानिस्तानको पश्चिममा अवस्थित हेरात प्रान्तमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा एक हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

पश्चिमी सहर हेरातमा भूकम्पले सबैभन्दा बढी प्रभाव पारेको छ । त्यस क्षेत्रका घर तथा भवनहरु क्षतिग्रस्त भएका छन् । साथै भग्नावशेषहरुमा मानिसहरु फसेका र उद्धार कार्य जारी रहेको अफगान अधिकारीहरुले जनाएका छन् । मृतकको संख्या बढ्न सक्ने जनाइएको छ। हेरात केन्द्रीय अस्पतालमा सयौँ घाइतेहरुलाई उपचारको लागि भर्ना गरिएको भिडियो फुटेजहरुमा देखिएको छ ।

हेरातबाट १२० किलोमिटर दूरीमा रहेको इरानसँगको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाइएको छ । पहिलो भूकम्पपछि लगातार तीनपटक शक्तिशाली धक्का महसुस भएको स्थानीयले जनाएका छन् ।

गत वर्षको जुन महिनामा पक्तिका प्रान्तमा गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । साथै दशौँ हजार मानिस घरविहीन बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर