इजरायलको दक्षिणी भाग किबुज अलुमिममा प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको आक्रमणपछि त्यहाँ रहेका २५४ जना नेपाली नागरिकलाई सरकारले उद्धार गरेको छ । इजरायलका जोखिमयुक्त १६ स्थानबाट राजधानी तेल अबिबमा स्थानान्तरण गरिएका उनीहरूलाई नेपाल एयरलाइन्सको आरए–२३० उडानबाट काठमाडौं ल्याइएको हो ।

सरकारले गठन गरेको समन्वय संयन्त्रका संयोजक समेत रहेका परराष्ट्रमन्त्री एनपी साउद उद्धारका लागि बिहीवार बिहान इजरायलको तेल अबिबतर्फ प्रस्थान गरेका थिए । घटना भएको छेटौं दिनमा २५४ जनालाई स्वदेश ल्याएपछि परराष्ट्रमन्त्री साउदले उद्धार कार्यलाई निरन्तरता दिइने प्रतिक्रिया दिएका छन् ।
‘इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार थप विमान पठाइनेछ । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च व्यहोर्ने र चार्टर विमान पठाउने निर्णय पनि गरेको छ’ मन्त्री साउदले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘आवश्यकता अनुसार जहाजहरू पठाइनेछ । सरकार सजग छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ ।’

पहिलो चरणमा उद्धार गरिएकामध्ये अधिकांश ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विद्यार्थीहरू छन् । यो कार्यक्रम अन्तरगत त्रिभवन, सुदूरपश्चिम र कृषि विश्वविद्यालयमा कृषि विज्ञान अध्ययनरत २६५ जना विद्यार्थी इजरायल पुगेका थिए । उनीहरूमध्ये १० जनाको हमासले गरेको आक्रमणमा परी मृत्युभएको थियो र चार जना घाइते भएका थिए ।
पछिल्लो विवरणअनुसार इजरायलमा रहेका ३६ वटा देशका करिब १३ सयभन्दा बढीको ज्यान गइसकेको छ भने सयौंको सङ्ख्यामा घाइते भएका छन् ।

नेपालसँगै फ्रान्स, जर्मनी, स्विजरल्याण्ड, नर्वे, फिनल्याण्ड, स्विडेन, ईटाली, स्पेन लगायतका अन्य देशले पनि आफ्ना सबै नागरिकको उद्धार गर्न सकेका छैनन् । युरोपका कतिपय देशले पहुँचवाला राष्ट्रसँग सहयोग मागिरहेका खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आइरहेका छन् । छिमेकी मुलुक भारतले पनि नेपालसँगै शुक्रबार बिहान मात्रै आफ्ना नागरिकलाई उद्धार गरेको छ ।

यस्तो अवस्थामा नेपाल सरकार सुरुको केही समय अलमलिएजस्तो देखिए पनि असुरक्षित स्थानमा रहेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउने प्रक्रिया थालेको छ । स्रोतसाधन सम्पन्न र भूगोलका हिसाबले समेत सहजता भएका अन्य मुलुकले समेत आफ्ना नागरिकलाई फिर्ता लिन नसकिरहेको अवस्थामा सरकारले गरेको उद्दारलाई विद्यार्थी र अभिभावकले प्रशंसा गरेका छन् ।

शुक्रबार बिहान उद्धार विमानमार्फत काठमाडौं आइपुगेकाहरूले सरकारलाई धन्यवाद दिएका छन् । ‘धेरै जना अझै पनि ट्रमाबाट बाहिर निस्कन सक्नुभएको छ । धेरै आमा बाबाको आँखामा आलै छ । अहिले त्यहाँबाट यहा आउँदा सपनामा छु जस्तै लाग्दैछ’, रेश्मा श्रेष्ठले भावुक मुद्रामा भनिन्, ‘हाम्रा लागि चिन्ता चासो राख्नुभयो, यहाँसम्म ल्याउन मद्दत गर्नुभयो । यो गुन हामीले कहिल्यै तिर्न सक्दैनौं ।’

रेश्माले यस्तो भनिरहँदा स्वागत गर्न पुगेकी दिदीका आँखा पनि रसाए । ‘यो खुशीको आँसु हो । मेरो बहिनीलाई सकुशल पाएको छु । अरुको परिवारमा कस्तो होला भन्ने अनुभूति गर्न सक्छु’ उनले सरकारलाई आग्रह गरेकी छन्, ‘उहाँहरू (बाँकी रहेका) लाई पनि ध्यान दिन सरकारलाई आग्रह गर्छु ।’

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका लोकेन्द्र विष्टकी आमा चन्द्रा पनि छोरालाई सुकुशल उद्धार गरेर सरकारले लगाइदिएको गुन जिन्दगीभर नबिर्सने बताउँछिन् । ‘सरकारले यसरी ल्याइदियो भनेर विश्वास नै लागि रहेको छैन । यो गुन जिन्दगीभर बिर्सने छैन’ चन्द्राले भनिन्, ‘छोराले पासपोर्ट र ल्यापटप लिएर आयो, तर उ जीवित आयो । यो नै ठूलो कुरा हो ।’

नवलपरासी पूर्वका अर्जुन गिरीले पनि त्रिभुवन विमानस्थलमा अवतरण नभएसम्म बाँचिन्छ भन्ने नै नलागेको अनुभूति सुनाए । ‘रकेट बम आएर वर्षिंदा नेपाल आइन्छ भन्ने नै लागेको थिएन’ विमानस्थलमा सञ्चारकर्मीहरूसँग भने, ‘यहाँ ल्याण्ड भएपछि बाँचियो भन्ने लागेको छ । यसका लागि सरकारलाई धन्यवाद !’
लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका कञ्चनपुरका विद्यार्थी विपिन जोशी आक्रमण सुरु भएको एक हप्तासम्म पनि सम्पर्कमा आउन सकेका छैनन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका उनका साथीहरूलाई आफ्नोभन्दा उनै विपिनको चिन्ता बढी देखिन्छ ।

विपिनलाई अन्तिम पटक देखेका उनका साथीहरू ‘रियल हिरोको खोजी गरिदिन’ आग्रह गरिरहेका छन् । त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै बिबुशा अधिकारीले अहिलेलाई आफूहरूको एउटै आग्रह ‘सेभ विपिन जोशी’ भएको बताइन् ।

‘विपिनले ग्रिनेड (हमासले बंकरमा प्रहार गरेको) बाहिर नफालेको भए १७ जनाकै अवस्था के हुन्थ्यो कल्पना गर्न सकिन्न । उनी रियल हिरो हुन्’, अधिकारी भन्दै थिइन्, ‘हामी आयौं, अब सरकारले उनको खोजीका लागि पहल गरिदेओस् ।’

ग्रिनेड प्रहार भएलगत्तै विपिनलाई हमासका लडाकूहरूले नियन्त्रणमा लिएको उनी बताउँछिन् । ‘उनी कस्तो अवस्थामा छन् भन्ने अहिलेसम्म थाहा छैन’ थाइल्याण्डले हमासको नियन्त्रणमा रहेका आफ्ना नागरिकलाई मुक्त गराउन वार्ता गरिरहेको सुनेको भन्दै उनले भनिन्, हाम्रो देशले पनि उसको समयमै उद्धार गरोस् ।’

प्रत्यक्षदर्शी विपिनका साथीहरूका अनुसार हमासले आक्रमण गरेको घटनास्थलबाट अन्य विदेशी नागरिकहरूसँगै उनलाई पनि लडाकुहरूले गाजाँ क्षेत्रतर्फ लगेका हुनसक्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर