बालबालिकामा देखिने थाइराइडको समस्या वयस्कको भन्दा फरक हुन्छ। कतिपय बालबालिकामा थाइराइड ग्रन्थी नै हुँदैन। हामी त्यसलाई मेडिकल भाषामा ‘थाइरोइड ए–जेनेसिस’ वा ‘डिस्जेनेसिस’ भनेर बुझ्छौँ। कतिपयको यो ग्रन्थी नियमित स्थानमा नभई फरक स्थानमा हुन्छ, जसलाई हामी ‘एक्टोपिक थाइराइड ग्लान्ड’ भन्छौँ। केहीमा भने थाइराइड ग्रन्थी त हुन्छ, तर काम गरेको हुँदैन। जन्मेदेखि २–३ वर्षको बालबालिकामा देखिने थाइराइड सम्बन्धी समस्याको मुख्य कारण यिनै हुन्। कतिपय बालिबालिकामा अलि ठूलो भएपछि ‘अटो इम्युन थाइराइड डिस्फङ्सन’का रुपमा थाइराइडको समस्या देखा पर्छ।

गर्भवती अवस्थामै आमामा थाइराइड सम्बन्धी समस्या (अटो इम्युन थाइराडाइटिस) देखिएको छ भने त्यो ‘एन्टीबडी’ बच्चाको शरीरमा पनि सरेको हुन्छ। गर्भवती अवस्थामा आमाले थाइराइडलाई कम गर्ने ‘एन्टी थाइराइड ड्रग’ लिइरहेको छ भने बच्चामा थाइराइड हर्मोनको कमी देखिन सक्छ। आमा गर्भवती हुनुअघि नै थाइराइडको समस्या देखिएको छ भने शिशुहरुको हकमा अलि बढी सतर्क हुनुपर्छ। आमाकै कारण हुन्छ भन्ने छैन तर सम्भावना रहन्छ।  बच्चामा थाइराइड हर्मोनको कमी वा बढी गरी दुई खालका समस्या देखिन सक्छन्। अधिकांश बालबालिकामा थाइराइडको कमीकै कारण समस्या आएको हुन्छ। यस्तो समस्या लिएर आएका बालबालिकाको उपचारका क्रममा ‘स्क्यान’ गरी हेर्दा कतिपयको थाइराइड ग्रन्थी नै देखिँदैन।

कसरी थाहा पाउने?

बालबालिकामा थाइराइड सम्बन्धी समस्या भए नभएको बारे हरेक अविभावक सचेत हुन जरुरी छ। अविभावक सचेत भएमा शिशु जन्मेको १–२ महिनामा पनि थाह हुन सक्छ। बच्चालाई सामान्य खालको जन्डिस देखा परेमा एक–दुई सातामा निको भइसक्नुपर्छ। तर, ‘पर्सिस्टेन्स जन्डिस’ भइरहेमा अथवा बच्चामा पहेँलोपना रहिरहेमा र जाँच गराउँदा जन्डिसका लक्षण देखिएनन् भने थाइराइडको परीक्षण गर्नुपर्ने हुन्छ।

शिशुले राम्रोसँग दुध खान नसक्नु पनि थाइराइड समस्याको एउटा लक्षण हो। बच्चामा तौल, उचाइ नबढ्नु जस्ता लक्षण देखिन सक्छन्। थाइराइड भएको बच्चाको अनुहार अलि भद्दा, नमिलेको वा फुलेको देखिन्छ। जिब्रो बाहिर निकालिरहन्छ। खुट्टाहरु अलि सुन्निएको र फुलेका जस्ता हुन्छन्।

बच्चाको स्वर पनि फरक किसिमको हुन्छ। आमाको दूध चुस्न गाह्रो मानेजस्तो गर्छ। नाक बन्द हुन्छ। जन्मेको ३–४ महिनामा टाउको ठड्याउनुपर्ने बच्चाले टाउको उठाउन नसक्ने हुन्छ। ७–८ महिनामा बस्नुपर्ने बच्चा बस्न नसक्ने हुन सक्छ। हिँड्नुपर्ने उमेरमा बच्चा हिँड्न नसक्ने हुन्छ। यसरी समग्रमा बालबालिकाको शारीरिक र मानसिक विकासमा ढिलाइ भइरहेछ भने थाइराइडको समस्या हो कि भनेर शंका गर्नुपर्छ।

कतिपयको नाइटो सुन्निने हुन्छ। छालाहरु फुस्रो हुन्छन्। कब्जियतको समस्या पनि देखापर्छ। आमाको दूध खाने शिशुले दिनको ४–५ पटक दिसा गर्नुपर्नेमा कब्जियत हुने, पेट फुल्ने भइरहन्छ। थाइराइडका कारण कतिपय बालबालिकाको उचाइ बढेको हुँदैन, तर ठिकठिकै खाँदा पनि मोटाइ भने निकै बढेको हुन्छ।

उमेरको अनुपातमा तौल र लम्बाइ (दुई वर्षभन्दा कम उमेरका बालबालिकाको उचाइलाई लम्बाइ भनिन्छ) कम हुन्छ। बच्चाको तालुको विकासमा पनि असर पर्छ। शिशुको अगाडिको तालु १८ महिनाभित्र बन्दजस्तो भइसकेको हुनुपर्छ। पछाडिपट्टिको त ३ महिनामा नै बन्द भएको हुनुपर्छ। त्यसभन्दा फरक रुपमा विकास भयो भने हामीले थाइराइडमा गडवडी भयो कि भनी शंका गर्नुपर्ने हुन्छ। मुख्य गरी थाइराइडको गडबडीले शारीरिक र मानसिक विकास सुस्त हुन्छ। यी थाइराइड हर्मोनको कमीले देखिने लक्षणहरु हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर