सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
खड्काका अनुसार, दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।
‘डीआरएस कन्टेनरमा खाद्यान्नबाहेक उद्दारका सबै सामग्रीहरु हुन्छ, अहिले कुरिनटार र सिनामंगलरमा पनि डिजास्टर म्यानेजमेन्टको तालिम लिएको टोली तैनाथ राखिएको छ’, उनले भने, ‘थप मेडिकल रेस्पोन्डरको टोली पनि पठाउन तैनाथ गरेका छौं ।’एसएसपी खड्काका अनुसार, महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सेनाको टोली पनि गएरातिदेखि नै खोज तथा उद्दारमा खटिएको छ । थप उद्दार टोलीलाई पठाउन समेत तैनाथ राखिएको छ । सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली पनि त्यसतर्फ प्रस्थान गर्दैछ ।