त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८३।०८४ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन, वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा नयाँ विद्यार्थी भर्ना गर्ने जनाएको हो ।
सूचनाअनुसार इच्छुक विद्यार्थीले मंसिर महिनाभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । भर्ना प्रक्रिया पूरा भएपछि २०८३ माघदेखि कक्षा सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै, स्नातकोत्तर तहको प्रथम सेमेस्टरको अन्तिम परीक्षा २०८४ जेठमा सञ्चालन गर्ने र सो परीक्षाको नतिजा भदौमा प्रकाशित गर्ने कार्यतालिका तय गरिएको छ ।
भर्ना हुन इच्छुक विद्यार्थीले सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ । आवेदनका साथ हालसालै खिचिएको फोटो, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्नेछ ।
प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा अन्य आवश्यक जानकारी सम्बन्धित संकायका डिन कार्यालय र क्याम्पसबाट प्राप्त गर्न सकिने त्रिविले जनाएको छ ।










