फिल्म ‘पाँच पाण्डव’ आज (शुक्रबार) देखि प्रदर्शनमा आएको छ। तिहारको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले सुरूआतमा सन्तोषजनक शो पाएको निर्माण पक्षले जनाएको छ। निर्देशक वसन्त निरौलाले बलिउडको ठूलो फिल्म प्रदर्शनमा आएकाले ‘पाँच पाण्डव’ले पाएको शो सन्तोषजनक रहेको बताएका छन्।
‘हाम्रो सिनेमाले जति शो पाएको छ, बलिउडको ठूलो सिनेमा आएकाले यसलाई सन्तोषजनक मान्नुपर्छ,’ उनले भने, ‘तर, हाम्रो सिनेमा राम्रो बनेको छ। त्यसैले दोस्रो दिनदेखि हलहरूले शो थप्दै जानेमा हामी पूर्ण रूपमा ढुक्क छौं।’ बलिउड फिल्म ‘रामायण’ प्रदर्शनमा आएको एक दिनपछि ‘पाँच पाण्डव’ सिनेमाघरमा आएको हो।
‘पाँच पाण्डव’ को कथावस्तु, आइडिया र प्रस्तुतिलाई दर्शकले रूचाउनेमा आफू विश्वस्त रहेको निर्देशक निरौलाले बताएका छन्। वसन्त निरौला निर्देशित ‘पाँच पाण्डव’ मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, विनोद न्यौपाने, दीपाश्री निरौलालगायत कलाकारको अभिनय छ।
त्यस्तै, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)लाई पनि फिल्ममा देख्न पाइनेछ। काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्मातामा काली रानी श्रेष्ठ रहेकी छन्। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्।
लेखक पौडेलका अनुसार ‘पाँच पाण्डव’ सामाजिक विषयवस्तुमा आधारित फिल्म हो। यसमा महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ। उसो त प्रदर्शनअघि यो फिल्म विवादमा समेत परेको थियो। फिल्मको ‘राजा चाहिया छ’ गीतमा अभिनेत्री इभा गिरीको नृत्य र उनलाई द्रौपदीको विम्बसँग जोडेर प्रस्तुत गरिएको भन्दै केही धार्मिक समूह तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका थिए।
तर, निर्माण पक्षले फिल्म महाभारतको कथामा आधारित नरहेको र कुनै पनि धर्म तथा आस्थामा चोट पुर्याउने उद्देश्य नरहेको स्पष्ट पारेको थियो। विवादकैबीच सञ्चार मन्त्रालयमा भएको छलफलपछि फिल्म तोकिएकै मितिमा प्रदर्शन हुने निष्कर्ष निकालिएको थियो। फिल्मलाई श्याम तामाङले छायांकन गरेका हुन्।
सुप्रिम पराजुलीले सम्पादन तथा रंग संयोजन गरेका छन् भने सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन्। गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको ध्वनि संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक (बीजीएम) र पुकार धिमालको भिएफएक्स छ।
निर्माण पक्षका अनुसार फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउनेछन्। फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गरेको हो।










