चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो ।उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ । सो बैठकको निर्णय अनुसार छिट्टै नै ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने मुख्यमन्त्री शालिकराम जम्कट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिए ।उनका अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ । महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले बताए ।उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्ताव अनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने उनले बताए । उक्त लागत अनुमानको ७० प्रतिशत बागमती प्रदेश सरकारले व्यहोर्ने र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति सहित निर्णय भएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर