फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी परेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले फिल्म विरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् ।
फिल्ममा ‘लाज’को कथासार र केही प्लट तोडमोड गरी नियतवश चोरी गरिएको उजुरीमा उल्लेख छ । ‘विगत दुई वर्ष पहिले मैले ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेललाई ‘लाज’को सम्पूर्ण कथा, पटकथा तथा संवाद सुनाएको थिएँ’, लामिछानेले अगाडि लेखेका छन् ‘ फिल्मका निर्माण कम्पनी बाँसुरी फिल्मसका प्रबन्ध निर्देशक रामबाबु गुरुङ (फिल्म निर्देशक)लाई पनि ‘लाज’माथि सहकार्य गर्ने हेतुले इमेल गरिएको थियो ।
’ लामिछानेले आफ्नो बौद्धिक सम्पत्ति चोरी भएकाले फिल्मका निर्देशकदेखि सम्बन्धित व्यक्तिसँग सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् । लामिछानेले केही अगाडि सामाजिक सञ्जालमा पनि यस विषमा एक पोस्ट गरेका थिए ।