ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को वितरण कम्पनी सेभेन सिज सिनेमाले शनिबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभरका सिनेमा हलमा फिल्म प्रदर्शन नहुने घोषणा गर्‍यो।

भारतीय फिल्म ‘पुष्पा २’ प्रदर्शनमा आएपछि फिल्मको शो घटेको विषयलाई लिएर निर्माता असन्तुष्ट थिए। ‘पूर्णबहादुरको सारंगीलाई कर्नरिङ गरेपछि विद्रोह गर्ने अवस्थामा पुग्न बाध्य भएका हौं,’ विज्ञप्तिमा उल्लेख छ।

निर्माताले आफ्नो फिल्म उतार्ने घोषणा गरे पनि वितरकले सहमति नदिँदा प्रदर्शन नरोकिने भएको छ। वितरण कम्पनी टी–फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई निरन्तरता दिन भन्दै हललाई पत्राचार गरेका छन्।

निर्माता र वितरकबीचको सम्झौतामा वितरक माथि रहेकाले प्रदर्शन यथावत रहने भएको हो। त्योसँगै हलमा सोमबारदेखिका शो तालिका पनि यथावत छन्।फिल्मका निर्माता विनोद पौडेलले आफूहरूले चाहेर पनि फिल्म उतार्न नसकेको बताए।

‘हामीले उतार्ने निर्णय लियौं। तर, कागजी सम्झौताको एउटा बुँदामा प्रदर्शन गर्ने र उतार्ने अधिकार वितरकको हुनेछ भन्ने उल्लेख रहेछ,’ पौडेलले भने, ‘सोही कारण आफ्नै फिल्म पनि हामीले चाहेर मात्र उतार्न सकेनौं।’उनले आफूहरूको फिल्म अहिले पनि राम्रो अकुपेन्सीमा चलिरहेकाले शोको कुरामा असन्तुष्टि जनाउनुपरेको बताए।

पौडेलले भने, ‘हिजो राम्रो पैसा कमाएको, राम्रो शो पाएको फिल्मको शो एकैचोटि घटाएर सम्पूर्ण हिन्दी शो हिन्दी फिल्मलाई दिँदा असन्तुष्टि व्यक्त गरेका हौं। हामीले धेरै शोको आशा पनि गरेका होइनौं। पैसा धेरै कमाओस् भन्ने पनि होइन। यदी अकुपेन्सी छैन भने हटाउनुहोस्। नत्र मल्टिप्लेक्सनले दुइटा, सिंगलले एउटा शो दिऔं न भन्ने थियो। सम्मानजनक शो मात्र मागेका थियौं।’

‘पूर्णबहादुरको सारंगी’ वितरक कम्पनीमध्येको एक टी–फोकका सञ्चालक प्रचण्डमान श्रेष्ठ सम्झौता मात्र नभइ व्यावहारिक हिसाबले पनि हेरिनुपर्ने बताए।

‘एक पक्षको मात्रै निर्णयले आजको भोलि प्रदर्शन रोकिने भन्ने संसारमै हुँदैन होला,’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘कागजी सम्झौतालाई मात्र टेकेर निर्णय लिइएको होइन। व्यावहारिक हिसाबले पनि सोचिनुपर्छ।’

‘पूर्णबहादुरको सारंगी’ कात्तिक १५ गते रिलिज भएको थियो। विजय बराल अभिनीत फिल्मले नेपालमा ४८ करोड रूपैयाँ हाराहारी कमाइ गरेको छ। विदेशमा ४० करोड रूपैयाँ हाराहारी कमाएको निर्माताले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर