चितवनमा उत्पादन भएको सयपत्री र मखमली फूल हङकङमा निर्यात हुने भएको छ। कालिका नगरपालिकाको वडा नम्बर ४ पदमपुरमा फुलाइएका फूलहरुलाई निर्यात गर्न लागिएको हो।

फूल खेती गर्दै आएको फूलमाला फार्म नेपालका सञ्चालक गोबिन्द बास्तोलाले ७०० वटा सयपत्री र ६०० वटा मखमली फूलको माला र दुई क्वीन्टल सयपत्री फूल हङकङ पठाउन लागेको जानकारी दिए।

च्याउ खेती तथा निर्यात गर्दै आएका कमल सुवेदीले यसपाली फूल पनि निर्यात गर्न लागेका हुन्। विदेशमा रहेका नेपालीबाट तिहारका लागि नेपालमा फूलेको सयपत्री फूलको माग भएकाले यहाँबाट खरिद गरेर लैजान लागेको उनले बताए।‘नेपाली समुदायको बसोबास रहेको हङकङबाट सुरु गर्न लागेका छौं। विस्तारै सिंगापुर, कतार, मलेसियामा पनि पठाउने तयारी गरेका छौं । यहाँको फूललाई प्याकेजिङ गरी आइसबक्समा राखेर जहाजमार्फत हङकंग पठाउने उनले बताए। ‘नेपालबाट ४८० रुपैयाँ प्रतिकिलोमा माला बनाएर लैजाँदा केही नाफा पनि हुन्छ। तर अहिले हामीले निर्यातको सुरुआतमात्रै गरेका छौं। यसमा सरकारले सहजीकरण ग¥यो भने आगामी दिनमा ठूलो परिमाणमा निर्यात गर्न सकिन्छ।’चितवनमा यसवर्ष करिब ५० बिघा जमिनमा सयपत्री फूलको खेती भएको अनुमान छ। फूल खेती भरतपुर महानगरपालिकामा बढी छ। कालिका नगरपालिकामा करिब ९ बिघा जमिनमा फूल खेती गरिएको छ।कालिकामा बास्तोला परिवारले पाँच वर्षदेखि सयपत्री फूलको खेती गर्दै आएको थियो। सूरुआतमा आधारभूत विद्यालय पिपरियाको ४ कट्ठा जमिन भाडामा लिएर गरेको फूल खेतीबाट राम्रो आम्दानी भएपछि विस्तार गरेको बास्तोलाले बताए। ‘३० हजार रुपैयाँ लगानी गर्दा ६० हजार आम्दानी भयो। त्यसपछि यो खेती सफल हुने देखेर विस्तार गर्दै लग्यौं,’ बास्तोलाले भने।

तीन जना दाजुभाईसहित परिवारका ८ जना यो व्यवसायमा लागेका छन्।
सञ्चालक अमित बास्तोलाले यस वर्षदेखि बाह्रै महिना सयपत्री फूलको खेती गर्न सुरु गरेको बताए। ‘हामीले हिजो १० कट्ठा जमिनमा बिरुवा रोप्यौं। त्यो अब माघमा फूल्छ,’ उनले भने, ‘गत वर्ष परीक्षण गर्दा सफल भएपछि बाह्रैमास फूल खेती गर्न थालेका हौं।’

उनले फूल खेतीबाट आम्दानीको ५० प्रतिशत नाफा हुने गरेको बताए। बास्तोला परिवारले गत वर्ष फूल बिक्री गरेर १० लाख रुपैयाँ आम्दानी गरेको थियो। यस वर्ष करिब १५ कट्ठा बढी जमिनमा फूल खेती गरेकाले नाफ पनि थपिने बास्तोलाले बताए।
उनीहरुले गतवर्ष ७ हजारवटा माला र ५ क्वीन्टल खुद्रा फूल बिक्री गरेका थिए। यस वर्ष १२ हजारवटा माला र १० क्वीन्टल फूल बेच्ने लक्ष्य राखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर