नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए। रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर चौतर्फी प्रश्न उठेको थियो। नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो।
पाण्डे आगामी प्रधान सेनापतिको रोलक्रममा समेत थिए। प्रधान सेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिएलगत्तै पाण्डे प्रधान सेनापतिको रोलक्रममा थिए।
परीक्षा नियन्त्रण कार्यालय र सैनिक मुख्यालय स्रोतबाट प्राप्त कागजातअनुसार पनि पाण्डेले जन्ममिति सच्याएको देखिन्छ। छुट्टाछुट्टै विवरणमा उनको जन्ममिति २०२१ र २०२३ साल उल्लेख छ।
‘सैनिक नियमावली अनुसार उपरथी दर्जाको अवकास हुने उमेरको हद ५७ वर्ष हो। २०२१ साल माघ १२ गतेको जन्ममिति अनुसार उहाँले २०७८ माघ १२ गते नै अवकाश पाइसक्नुपर्ने हो तर अहिले १ वर्ष ८ महिना बढी समय अवधी किर्ते गरेर जागिर खाइरहनुभएको छ,’ सैनिक मुख्यालयमा परेको उजुरीमा उल्लेख छ। एसएलसी प्रमाणपत्रमा पाण्डेको जन्ममिति २०२१ माघ १२ गते छ।
तर, २०४२ चैत २५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंको चलानी नम्बर ७५८८ अनुसार पाण्डेको जन्ममिति २०२३ मंसिर २३ गते कायम गरिएको भन्दै एसएलसीको नतिजा प्रकाशित भएको मिति २०३८ सालको सक्कली ढड्डामा उल्लेख छ।तर उनको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ वैशाख ०३ गते जारी भएको देखिन्छ।
नागरिकता जारी भएको मिति अगावै कसरी उक्त जिल्ला प्रशासन कार्यालयबाट उमेर सच्याउन पत्राचार भयो भन्दै सैनिक मुख्यालय र प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा पनि उजुरी परेको थियो।
२०१७ सालमा जारी भएको परीक्षा नियन्त्रण कार्यालयको नियम अनुसार, एसएलसीको प्रमाणपत्रमा कुनै गल्ती वा भूल भएको खण्डमा उक्त विषय प्रमाण पत्र जारी भएको ६ महिना भित्र सुधार गर्नुपर्ने समयसीमा कायम रहने व्यवस्था थियो।
तर २०३८ सालमा परीक्षा दिएर २०४२ सालमा उमेर सच्याइएको स्पष्ट देखिएकाले यो गैरकानुनी हो भन्दै उनीविरूद्ध सैनिक मुख्यालयमा उजुरी परेको थियो।कुनै व्यक्तिको एसएलसी परीक्षाको प्रमाणपत्र तथा नागरिकतामा उमेर फरक परेमा प्रवेशिकाको प्रमाणपत्रमा उल्लेखित मिति वा जून उमेर बढी छ, सोहीलाई कायम राख्ने प्रावधान छ।
तर पाण्डेले उमेर घटाएर नागरिकता बनाई सोही आधारमा एसएलसी लगायतका शैक्षिक प्रमाण पत्रहरूमा केरमेट र सच्याएको प्राप्त कागजाताहरूबाट पनि देखिन्छ।
त्यति मात्रै होइन, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०४३ सालमा नागरिकता जारी भएका व्यक्तिको नागरिकता सच्याउन चाहीँ २०४२ सालमा नै पत्राचार भएकाले उक्त पत्रको आधिकारीकतामाथि नै प्रश्न छ