काठमाडाैं, आगामी ३ दिन देशभरका अधिकांश नदीहरूको बहाब बढ्ने भएको छ । भोलि(मंगलबार) र पर्सि (बुधबार) पश्चिम राप्ती, बबई, तिनाउसहित स-साना सहायक नदीमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी र गण्डकी प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाब उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आगामी तीन दिन देशका अधिकांश भू-भागमा पानी पर्ने पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै मंगलबार र बुधबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मंगलबार र बुधुबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ।

साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर