अभिनेता हरिवंश आचार्यको आगामी फिल्म ‘भूठान’को प्रदर्शन मिति तय भएको छ । अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ दिइएको यो फिल्म १२ बैशाखमा नेपालमा रिलिज हुनेछ ।

‘बुलबुल’ फेम्ड विनोद पौडेलको कथानक फिल्ममा आचार्यसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, ,अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउड अभिनेता ब्रुस डर्नको पनि अभिनय छ ।

साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली फिल्म हो जसमा हलिउडका केही प्राविधिकले पनि काम गरेका छन् । सन् २०१९ मा प्रदर्शनमा आएको पौडेलको ‘बुलबुल’ ९२ औं अस्कर अवार्डमा नेपालबाट सिफारिस भएको थियो । पौडेलले यसबाट सर्वोत्कृष्ट निर्देशन विधामा राष्ट्रिय चलचित्र पुरस्कार जितेका थिए ।

निर्मातामध्येका एक अविरल थापाले फिल्ममा दर्शकले हरिवंशलाई अहिलेसम्म नदेखिएको अवतारमा देख्न पाउने बताए । ‘आचार्यको जीवनकै यो कालजयी फिल्म हुनेमा म ढुक्क छु’ उनले भने ।

नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । फिल्मलाई विश्वभरिका हलमा बलिउड र हलिउडकै वितरकको संग्लग्नतामा एकै मितिमा प्रदर्शन गर्नको लागि पनि तयारी भैरहेको छ ।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानीको देशप्रेम र थातथलो छोड्न पर्दाको कथा र आफनो जराको खोजको कथा पेश गर्छ । छायांकन अमेरिकामै केही महिनाअघि सम्पन्न भएको थियो ।

प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँसकोटा छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् । फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाईट, एभरेष्ट ईन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर