भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ ।
भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ ।

भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् ।साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् ।

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउँछन् । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु दुई लाखसम्म आम्दानी हुने बताउदै उनले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउँछन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ ।

असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उनी बताउँछन् ।

सयपत्री फूल पनि असार/साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर/पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ ।

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर पनि बिक्री गर्ने गर्दछन् । सात आठवटा सयपत्री फूल राखेर मुठा पारेको फूल असार साउनमा एक मुठाको रु. १५ देखि रु. १८ सम्ममा बिक्री हुने गरे पनि अहिले तिहारका लागि भने रु. २० मा तीन मुठा बिक्री गरेको बस्नेत बताउँछन् ।

फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको रु. ५० देखि रु.६० सम्म र एक किलोको रु.२५० मा बिक्री गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर