काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत देशभर मनाउन अपिल गरेका छन्। आजबाट नेपाल संवत ११४४ सुरु भएको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले सबै समुदायलाई नेपाल संवत् मनाउन अपिल गरेका हुन्।
उनले भने, ‘हामीमा अझै यो नेवारहरुको संवतमात्रै हो भन्ने भ्रम छ। नेपाल संवत हामी सबैको साझा संवत हो। यो राष्ट्रिय संवत हो। सबै समुदायलाई यो संवत मनाउन अपिल गर्छु।’
उनले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउन नेवार समुदायले गरेको संघर्षप्रति धन्यवाद व्यक्त गरे।
वि सं २०६५ सालमा प्रधानमन्त्री हुँँदा आफैले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको उनले सो अवसरमा स्मरण गरे। तेस्रोपटक प्रधानमन्त्री हुँदा राष्ट्रिय संवतको मान्यता प्राप्त नेपाल संवतलाई कार्यान्वयनमा ल्याउन पनि आफू अडिग रहेको उनले बताए।
‘राष्ट्रिय संवत भनेर मात्र पुग्दैन भनेर सरकारको सबै दस्तावेजमा नेपाल संवत उल्लेख गर्ने निर्णय गरेको छ। सर्वसम्मत रुपमा यो पारित भएकोमा निकै खुसी छु,’ उनले भने, ‘नेपाल संवतलाई सबै दस्तावेजमा अनिवार्य गर्ने निर्णय गरेको हो। यसको कार्यान्वयन अब रोक्न सकिँदैन।’