![](https://janasarokar.com/wp-content/uploads/2023/11/pokhara-agalagi-2.jpg)
पोखरा । पोखरा महानगरपालिका-२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको छ ।
दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला बुधबार राति आगलागी भएको आश्रम सञ्चालक सुशील गोदारले जानकारी दिए । घर भाडामा लिएर अपांगता मैत्री समाजले सञ्चालन गरेको आश्रम, बिक्री गर्न राखिएका सामग्री, लत्ताकपडा र नगदसमेत जलेर नष्ट भएको छ । करिब एक लाख रुपैयाँ नगद आधा जलेको अवस्थामा फेला परेको छ ।
दृष्टिविहीनहरुले विभिन्न ठाउँमा पुगेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेचेर जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारले जानकारी दिए ।
आश्रममा करिब ३० जना बस्ने भए पनि अहिले तिहारमा धेरैजसो घर गएका कारण ९/१० जनामात्रै रहेका थिए । महिनाको १५ हजार रुपैयाँ तिरेर भाडामा लिएको घर, घरका सामान र बिक्रीका लागि राखिएका विभिन्न सामग्रीसमेत जलेपछि आफूहरु बिचल्लीमा रहेको आश्रममा बस्दै आएका राजकुमार चौधरीले दुखेसो पोखे । सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको चौधरीले बताए ।
देशका विभिन्न ठाउँबाट दृष्टिविहीनहरु आएर आश्रममा आश्रय लिने र विभिन्न उद्यमका काम गर्ने आश्रम नै जलेपछि उनीहरुलाई ठूलो चिन्ता परेको छ ।
दृष्टिविहीन र अपांगता भएकाहरु समेत सो आश्रममा बसेर अगरबत्ती, कपुर, पेन्सिल, डटपेन, फिनल, शौचालय सफा गर्ने सामग्री, अबिर, केसरी लगायतका सामग्री तयार गरी बजारमा लगेर बेच्ने गरेका थिए ।
बेच्नका लागि तयार पारिएको सबै सामाग्री जलेर नष्ट भएको छ ।