संरक्षण गर्न निर्माण भएका चरा आरक्षमा चरा असुरक्षित भएका छन् । कपिलवस्तुको कपिलवस्तु नगरपालिका –९ जगदीशपुर ताल (चरा आरक्ष) मा स्टिमर चल्न लागेपछि चरा सङ्कटमा परेका हुन् ।

समुदाय र तालको संरक्षण गर्दैआएको जगदीशपुर जलाशय व्यवस्थापन बहुउद्देश्यीय सरोकार मञ्चले एक सातादेखि तालमा स्टिमर सञ्चालन गरेको छ । तालको पश्चिमी भेगमा करिब ५ हेक्टर क्षेत्र तोकी स्टिमर चलाइएको छ । तीव्र गतिमा स्टिमर चलेपछि तालमा बसेका चराहरु भाग्नेगरेको स्थानीयको भनाइ छ ।

जगदीशपुर सानो रामसार क्षेत्र हो । यसमा स्टिमर चलाउन उपयुक्त छैन । स्टिमर चल्दा आवाज आउने, पानीमा छाल आउने, पर्यटक कराउने चिच्याउनेजस्ता क्रियाकलाप हुन्छन् । चरा छरिएर बस्ने ठाउँमा मोटरबोट र डुँगा चलेका छन् । जसका कारण चरा वासस्थानमा खलबल पुगेको छ । यसले रामसार क्षेत्र खतराको सूचिको क्षेत्रमा पर्ने सम्भावना भएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताउनुभयो ।

तालमा खुट्टाले चलाउने डुुँगा सञ्चालन गर्न अनुमति दिएको भ पनि नियमविपरीत चलेको स्टिमर सञ्चालन नगर्न आदेश दिएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले बताउनुभयो । चरा संरक्षणकर्मी दीलिप चन्दले भन्नुभयो, “तालको पश्चिमतर्फको सानो झाडीमा सिलसिले हाँसको बथान खेलेको देखिन्थ्यो । स्टिमर चल्न लागेपछि करिब १ किलो मिटर पूर्वसम्म चरा देखिएनन् ।”

सानो जलेवाको बथान रुखमाथि बसेर स्टिमर र डुँगा चलेको क्षेत्रमा हेरेर कुरेर बसेको देखिन्थ्यो । आरक्षमै चरा असुरक्षित छन् तर सरोकारवाला निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । तालको संरक्षण गर्ने दायित्व लिएको कपिलवस्तु नगरपालिकाले मञ्चलाई स्टिमर खरिदका लागि ५ लाख अनुदान दिएको थियो । मञ्चले थप लगानी गरी १३ लाख ५० हजारको लागतमा स्टिमर खरिद गरिएको जनाएको छ ।“तालमा डुँगा र स्टिमर चल्दा चरालाई कुनै नोक्सानी भएको छैन । चरा विज्ञले अनावश्यक टिकाटिप्पणी गरेका छन् । डुँगा सञ्चालन गर्दा पनि चराको संख्यामा कमी भएको छैन । डुँगा देखेपछि चरा केही टाढा जाने र फेरि त्यही ठाउँमा आएर खेल्नेगरेको छ” मञ्चका अध्यक्ष ललित गुरुङले भन्नुभयो ।

मञ्चले तालमा स्टिमर परीक्षणको रुपमा सञ्चालन भएको जनाएको छ । पाहुना चरा आएपछि चरालाई असुरक्षित भएको देखिएमा स्टिमर बन्द गर्ने जनाएको छ । स्टिमर चढ्न दैनिक ४ सय पर्यटक आउनेगरेका छन् । स्टिमर र डुँगा जथाभावी चलाउँदा तालमा स्थानीय चरा समेत देख्न छाडिएको छ ।

चरा छरिएर बस्ने क्षेत्र र तालको बीचमा रहेको टापुसम्म डुँगा पुग्दा चराको संख्या पातलिएको छ । मानवीय गतिविधि न्यून हुने तालको पूर्वी र उत्तरी छेउतिर भने सानो समूहका चराको बथान देखिनेगरेको छ । यता आरक्ष क्षेत्रमा नियमविपरित डुँगा चल्दा समेत सरकारी निकाय मौन बसेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर