पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्।

सोमबारबाट हल्का वर्षा सुरु भएको र मंगलबार हिमपात भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । मर्दी हिमालमा हिमपात भएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीसमेत उत्साहित भएका छन्। हिउँ परेपछि मर्दीसहित वरिपरिका हिमाल सेताम्मे बनेका छन् ।

पोखरादेखि छोटो समयमै पूरा गर्न सकिने र मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले यो पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् ।

लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । ‘मर्दीमा हिउँ पर्न थालेपछि आकर्षण बढ्छ । पोखरादेखि सजिलै पुग्न सकिने भएकाले योबेला पर्यटकले बढी रुचि देखाउँछन्’, वडाध्यक्ष क्षेत्रीले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर