नुवाकोटको ऐतिहासिक एवं पुरातात्त्विक स्थल चिम्टेश्वरमा श्रीमदभागवत धान्याचल विराट ज्ञान यज्ञ– २०८१ सुरु भएको छ । बुधबारदेखि सुरु भएको ज्ञान यज्ञ यही फागुन १४ गते महाशिवरात्रिका दिनसम्म सञ्चालन हुनेछ ।

बुधबार ज्ञान यज्ञको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकतालाई विश्वमाझ पुर्‍याउन सरकारले सहयोग गर्ने बताए । उनले चिम्टेश्वर क्षेत्रमा आवश्यक पूर्वाधार विकासका लागि सरकारले यथोचित प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए ।

चिम्टेश्वर विकास समिति, महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष एवं वडा– २ का अध्यक्ष रामचन्द्र तिमिल्सिनाले चिम्टेश्वर क्षेत्रको ऐतिहासिकता, पर्यटकीय पक्ष सँगसँगै धार्मिक महत्त्वलाई जागरुक गराउने हेतुले ज्ञान यज्ञ आयोजना गरिएको बताए। उनका अनुसार यज्ञको पूर्वांग तथा शोभायात्रा बुधबार गरिएको छ भने पाठपारायण तथा प्रवचन बिहीबारदेखि १४ गतेसम्म हुनेछ। फागुन १४ गते महाशिवरात्रि भएकाले  रुद्राभिषेक गरिनेछ । फागुन १५ गते साँझ दीप प्रज्ज्वलन, रातभर जाग्राम तथा भजनकीर्तन हुने समितिले जनाएको छ ।

ज्ञान यज्ञ पण्डित नारायण न्यौपानेले कथावाचन गर्नेछन् ।  यसबाट उठेको भेटी मन्दिरपरिसरको पूर्वाधार विकासका लागि खर्च गरिने समितिले जनाएको छ । ज्ञान यज्ञ शुभारम्भ कार्यक्रममा बेल्कोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा– ८ का वडाध्यक्ष आशामान संगतलगातको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर