केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिएको छ । बोर्ड अध्यक्ष गजेन्द्र ठाकुरले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेका छन् ।
बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको बताए ।
फिल्म निर्माता कम्पनी जेपिटी क्रिएसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले फागुन १४ मा रिलिजका लागि बाटो खुलेको बताए ।
उनका अनुसार मन्त्रालयको कानुन शाखाले पाटन उच्च अदालतलाई सेन्सर बोर्डको निर्णयबारे जानकारी गराउनेछ । ‘सेन्सर बोर्डको निर्णयको जानकारी मन्त्रालयले नै अदालतलाई गराउने कुरा छ’ घिमिरेले भने ।
सेन्सर बोर्ड अध्यक्ष ठाकुरले अदालतले अहिलेसम्म आफूहरूलाई निर्णयबारेको जानकारी नमागेको तर मागेको खण्डमा कानुनअनुसार दिने बताए ।
गतसाता पूर्वमन्त्री अफ्ताव आलमले फिल्मको चरित्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले सेन्सर अघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो । अफतावको मागबारे सेन्सर बोर्डले चर्चामा आएजस्तै कुनै व्यक्ति लक्षित दृश्य र संवाद फिल्ममा नरहेको बताइसकेको छ ।
अदालतमा मुद्दा अहिले पनि विचाराधिन छ । कुमार कट्टेल निर्देशित फिल्म शिवरात्री अवसरमा फागुन १४ मा प्र्रदर्शन तयारीमा छ ।










