पाल्पाको रामपुर सहरीकरणको सम्भावना बोकेको सहर हो । कालीगण्डकी करिडोरसँग जोडिएको रामपुर नगरपालिकामा पछिल्लो समय पूर्वाधार विकासले द्रुत गति लिएको छ ।

यहाँको मुख्य बजार बेझाड र त्यस आसपासका सडक हाल धमाधम स्तरोन्नति भइरहेका छन् । बेझाड बजार क्षेत्रमा सडक कालोपत्रका लागि काम थालनी भएपछि यस क्षेत्रका स्थानीय उत्साहित बनेका छन् ।

बजार क्षेत्रमा दुईतर्फी पैदलमार्गसहितको सडक कालोपत्रको योजना सुरु भएको छ । ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत (बजार क्षेत्र) बेझाड बजार, बाङ्गेपसल र सहकारी भवनसम्म एक हजार आठ सय ३० मिटर सडक स्तरोन्नति तथा कालोपत्र भइरहेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए ।

“बजार क्षेत्रमा काम भइरहेको छ, नाली खन्ने काम सकिएको छ, यसपछि कालोपत्र गरिने छ, बजार क्षेत्रलाई व्यवस्थित बनाउन पैदलमार्ग तयार गर्ने र सडक बत्ति जडान गर्दैछौँ”, उनले भने। बजार क्षेत्रमा सडकको निश्चित मापदण्ड बनाएर रेखाङ्कन गरी काम थालिएको वडाध्यक्ष पोखरेलले बताए। रामपुरको मुख्य बजार क्षेत्र भएकाले बेझाड बजारलाई हेर्न र घुम्न लायक सहर बनाउन स्तरोन्नतिमा जोड दिइएको हो ।

ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाअन्तर्गत बेझाड बजारसहित रामपुर–५ र ६ मा पर्ने सहायक सडक  स्तरोन्नति गर्ने कार्य भइरहेको छ । लुम्बिनी प्रदेश सरकार, सहरी विकास मन्त्रालयमार्फत यहाँ करिब नौ किलोमिटर सडक स्तरोन्नति गरिँदैछ । सडकको बीच रेखाबाट दायाँबायाँ दुवैतिर चार÷चार मिटर सडक क्षेत्राधिकार  छ । कूल रु २६ करोड ७१ लाखको लागतमा आयोजनाको काम सञ्चालन गरिएको छ ।

आयोजना सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारको समपूरक कोषबाट बजेट विनियोजन भएको छ । सडक स्तरोन्नति गर्न रामपुर नगरपालिकामा यो हालसम्मकै ठूलो कार्य हो । यस आयोजनाअन्तर्गत रामपुर–५ स्थित सिमलघारी बसपार्क क्षेत्रअन्तर्गत जोडिएका विभिन्न सडकको काम भइरहेको छ ।

गत वैशाखमा सम्झौता भई जेठदेखि काम सुरू भएको हो । चालु आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको वडाध्यक्ष पोखरेलले बताए । हालसम्म सबै सडकमा नाली निर्माणको काम लगभग सकिएको छ । अब कालोपत्र गर्ने तयारी छ । यी सडकले बेझाड बजार, बसपार्क, नगरपालिका कार्यालय, मालपोत तथा नापी कार्यालय र इलाका प्रशासन कार्यालयलाई जोडेको छ ।

नगरपालिका कार्यालय प्राङ्गण अगाडि सुविधा सम्पन्न नमूना हरियाली उद्यान बनाउने यसै योजनामा समावेश गरिएको रामपुर नगर प्रमुख रमणबहादुर थापाले बताए । नगरपालिका तथा वडाबाट विनियोजन गरेको साना रकमले ठूला आयोजना एकै पटक सञ्चालन गर्न कठिनाइ पर्ने हुन्छ । हाल यहाँ परेको ग्रामीण विकास तथा साना सहरी पूर्वाधार आयोजनाले रामपुरको मुहार फेर्नेछ ।

तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गराउन निर्माण कार्य भइरहेका स्थलमा जनप्रतिनिधिबाट निरन्तर अनुगमन तथा निरीक्षणको कार्य भइरहेको छ । यो आयोजना निर्माणको काम सकिएपछि रामपुर सुगम सहरको रूपमा चिनिनेछ भने यहाँ पाल्पा मात्र नभई स्याङ्जा, तनहुँ र नवलपुरका स्थानीयको व्यापार व्यवसाय तथा आवतजावत गर्ने प्रमुख केन्द्र भएकाले चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले बताए ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर