शैक्षिक भ्रमणका लागि इलाम गएको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये थप २ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।

विर्तामोडस्थित विएण्डसी अस्पतालमा लामाको आइतबार र तामाङको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए। दुर्घटनामा आइतबार साँझ वडा नम्बर ९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो।

शैक्षिक भ्रमणका लागि धनुषाबाट इलामको कन्याम आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। जसमध्ये ३ जनाको मत्यु भइसकेको छ भने ३३ जनाको हाल विएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अन्य २ जनाको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ। उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर