आज पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवस। सन्त नेता भट्टराईको विसं २०६७ साल फागुन २० गते निधन भएको थियो।
विसं १९८१ मा जन्मिएका भट्टराईले राणाशाही र पञ्चायत विरुद्ध अनवरत संघर्षका क्रममा लामो समय जेल जीवन बिताएका थिए। करिव २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत भएका थिए।
विसं २००३ सालमा नेपाली कांग्रेस गठन गर्दा देखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिएका थिए।
२०५६ सालको आम निर्वाचनपछि पनि उनी प्रधानमन्त्री भएका थिए। २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुन्।
सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकस मात्र आफूसँगै लिएर फर्किएका थिए।
जसकै कारण आज पनि उनलाई सन्त र आदर्श नेताको रुपमा लिने गरिएको छ। भट्टराई नेपाली कांग्रेसभित्र किसुनजी नामबाट पनि परिचित थिए।










