
नेपाली फिल्म ‘द्रौपदी’ जर्मनीको ‘प्याराडाइज फिल्म फेस्टिभल छनोट’ भएको छ । यही मार्चमा आयोजना हुने फेस्टिभलमा फिल्मको प्रदर्शनसमेत हुने लेखक तथा निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।
कर्णालीमा छायांकन भएको फिल्म अझै धेरै फेस्टिभलमा पठाउने तयारी भइरहेको आचार्यले सुनाए । फिल्म डोल्पाको शेफोक्सुण्डो ताललगायत कर्णालीको विभिन्न रमणीय स्थलहरूमा छायांकन गरिएको ‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको फिल्म हो ।
फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय छ ।
फिल्ममा कथा, पटकथा, संवाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको गीतमा रवि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुवास ठडराई यो फिल्मका सहनिर्माता हुन् । आरबी मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।