तनहुँको भीमाद नगरपालिका-२ धरमपानीबाट बेपत्ता भएका महेश सुवेदी पाँच दिनपछि मृत फेला परेका छन् ।
३६ बर्षिय महेश बुधबार दिउँसो मृत फेला परेका हुन् । धरमपानी गाउँमुनिको शालिमेमैदानको खोल्सामा मृत भेटिएको महेशको दाजुसमेत रहेका भीमाद-२ का वडासचिव गोपालकृष्ण सुवेदीले बताए ।
खोल्साको पोखरीको पानीमा डुबेको अवस्थामा शव फेला परेको उनको भनाइ छ । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहानदेखि एकाएक बेपत्ता भएका थिए ।
नवलपुरको कावासोती नगरपालिका-३ मध्यविन्दु टोलमा बस्ने उनी भतिजको व्रतबन्धमा धरमपानी आएका हुन् । दाजुको घरमा सुतीरहेका सुवेदी एकाएक बेपत्ता भएपछि स्थानीय र आफन्तले निरन्तर खोजी गरेका थिए ।
उनी १७ गते बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू ‘कहाँ छु भन्ने थाहा नभएको’ बताएका थिए । त्यसलगत्तै उनको फोन स्विच अफ भएको थियो ।
शव फेला परेपछि प्रहरीको टोली आएर बुधबार नै लगेको छ । जिल्ला अस्पताल दमौलीमा पोस्टमार्टम भैरहेको छ । पोस्टमार्टम सकेर आज नै देवघाटधाम पुर्याएर अन्तिम संस्कार गर्ने पारिवारिक स्रोतले जनाएको छ ।










