नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । एकीकृत समाजवादीका महासचिव एवं केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । महासचिव भुसालले आन्दोलन बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी रहेको बताए ।

राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्यका साथ आन्दोलनको कार्यक्रम घोषणा गरिएको उनले बताए । आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

महासचिव भुसालले वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने, वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताए ।

आन्दोलनको मूल नारा ‘सुशासन र रोजगारी, समाजवादको तयारी, रोजगारी र सुशासनका लागि आन्दोलन’ रहेको छ । यो गणतन्त्रमा ठूलो पहदलकदमी हुने महासचिव भुसालको दाबी छ । सबै नेपालीलाई रोजगारी दिने गरी कृषि, उद्योग, पर्यटन, उर्जा, पूर्वाधार, सूचना प्रविधिको विकास रशिक्षा–स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकास तथा ती सबैमा नागरिकको सहज पहुँच ग्यारण्टी गर्ने पारदर्शी प्रशासनको स्पष्ट योजना मुलुकसँग नरहेको एकीकृत समाजवादीको ठहर छ ।

गणतन्त्र आएको १५ वर्षपछि पनि ७५ वर्षदेखिनेपालले सामना गरिरहेको बेरोजगारी र कुशासनका समस्याको समाधान हुन नसकेको र उत्पादन र वितरणको आफ्नै व्यवस्था नभएको कुनै पनि मुलुक गरिबी र अस्थीरताको दुश्चक्रबाट बाहिर निस्कन नसक्ने एकीकृत समाजवादीको निष्कर्ष छ । अब १० वर्षमा मुलुकमा सबै नेपालीलाईरोजगार बनाउन र भ्रष्टाचार तथा ढिलासुस्ती मुक्त सुशासन स्थापित गर्ने योजनाबद्ध कार्यक्रम राज्य र सबै राजनीतिक पार्टीहरुसँग हुनुपर्ने एकीकृत समाजवादीको मत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर