
शुक्रबार प्रदर्शनमा आउने फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार प्रिमियर गरिएको छ । कमलपोखरी स्थित सिटीसेन्टरको बिग मुभिजमा आयोजित प्रिमियर फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा फिल्म हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक समाजका अध्यक्ष जनदीप पराजुली, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) लगायत पुगेका थिए ।
केशव पाण्डेको निर्देशन रहेको सस्पेन्स क्राइम थ्रिलर जनरामा बनेको फिल्ममा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल लगायतको अभिनय छ ।
कार्यक्रममा फिलमका निर्देशक पाण्डेले आफ्नो लामो समयदेखिको मेहनत र सपना फिल्मबाट पुरा भएको बताए । ‘मैले जुन सपना देखेर यो फिल्म निर्माण गरेको थिए ।
त्यो पाउँदा निकै खुसी लागेको छ’ उनले थपे । फिल्मको लेखन समेत केशव पाण्डेले गरेका हुन् । अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, रामशरण उप्रेतीको छायाङ्कन रहेको फिल्मको सुवास राज काफ्ले प्रोडक्सन डिजाइनर हुन् । विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ ।